समाचार
परिचय
किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहहरु मध्ये एक स्थानीय तह हो। किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको उत्तर पश्चिम भागमा अवस्थीत छ । यस गाउँपालिकाको पुर्वमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, पश्चिममा नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका, उत्तरमा धादिङ जिल्लाको खनीयाबास गाउँपालिकाका साथै रसुवा जिल्लाको उत्तरगया गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको छ। यस गाउँपालिकाको क्षेत्रफल ८२.५७ वर्ग कि.मि रहेको छ ।यस गाउँपालिका समुन्द्र सतहबाट करीव ६२५ मिटर देखि करीब ४२०० मिटर उचाईसम्म रहेको समग्र नुवाकोट जिल्लाको हावापानीको झलक दिने भौगोलिक विविधता रहेको स्थानीय तहको रुपमा चिन्न सकिन्छ।
नेपाल संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत रहेको यस गाउँपालिका संघीय राजधानी देखि ९० कि.मि. र प्रदेश राजधानी देखि १४६ कि.मि. दुरीमा रहेको छ। साविकका भाल्चे, फिकुरी, काहुले, साल्मे र मनकामना गा.वि.स हरु मिलाएर यस गाउँपालिका बनेको छ। यस गाउँपालिकाको नामाकरण वडा न. ३ मा रहेको एक प्रसिद्ध धार्मिक स्थल किस्पाङ पोखरीको नामबाट रहन गएको हो।तामाङ भाषामा(कि) भन्नाले पानी र (पाङ)भन्नाले चौरबाट अपभ्रंश हुँदै किस्पाङ भएको भन्ने भनाई रहेको छ।र सोही नामबाट मिति २०७३ फागुन २७ गते गाउँपालिकाको घोषणा भएको छ।यस गाउँपालिकामा करीव १९,८८५ जनसंख्या रहेकोमा करीव ७७ प्रतिशत तामाङ जातिको साथै ब्राह्मण, क्षेत्री, दलित, घले, गुरुङ जातीहरुको मिश्रित बसोवास रहेको बहुभाषिक, बहुसाँस्कृतिक सम्पदा भएको स्थान हो। करीव ६२ प्रतिशत बौद्ध, ३० प्रतिशत हिन्दुका साथै क्रिश्यियन धर्मालम्बीको पनि वसोवास रहेको छ। ७७ प्रतिशत जनसंख्या रहेको तामाङ सामुदायले मातृभाषाको रुपमा रहेको तामाङ भाषा नै बोलचालमा प्रयोग भईरहेको छ। किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको एक पर्यटकीय सम्भावना बोकेको स्थानीय तह हो। यस गाउँपालिका , पर्यटनको साथसाथै कृषि, पशुपालन तथा जडिबुटी लाई ब्यवसायिक वनाउन सम्भावना वोकेको स्थानको रुपमा लिन सकिन्छ।यस गाउँपालिकामा अवस्थित करीव ३५०० मिटर उचाईमा रहेको फिकुरी डाडाँ हिमाली दृश्यावलोकन का साथै धार्मिक पर्यटनको सम्भावना वोकेको स्थान हो। गत आ.व. ०७६/०७७ मा किस्पाङ गाउँपालिकाले फिकुरी डाँडा लाई पर्यटकीय गन्तब्य वनाउनको लागि नेपाल पर्यटन वोर्ड वाट पूर्व सम्भाब्यता अध्ययन भ्रमण भैसकेको र निकट भविष्यमा यस क्षेत्रको पर्यटनमा नयाँआयाम थपिने स्पष्ट देखिन्छ। यसका साथै सिङ्ला पर्वत, चामछप्पा, दुम्पाङ, किस्पाङ पोखरी, वोल्दे पोखरी, लुम्वु डाँडा, ऐतिहाँसिक महत्व बोकेको नौ घडेरी ढुङ्गा, नुवाकोटकै सवै भन्दा अग्लो गयरफुङफुङ झरना जस्ता रमणीय स्थानहरुले किस्पाङ गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाएको छ ।
यस गाउँपालिकाको वडा नं १ मा अवस्थीत नेपालको एक मात्र भेडा अनुबांशिक स्रोत केन्द्र को रुपमा रहेको पानसय खोला भेडा आनुबांशिक स्रोत केन्द्र,(संघीय सरकारको मातहतमा) रहेको छ।यसका साथै राष्ट्रिय स्तरको विद्युत आयोजना हरु त्रिशुली थ्री ए ६० मेगावाट निर्माण सम्पन्न भैसकेको र निर्माणधीन ३८ मेगावाट को त्रिशुली थ्री बि आयोजना यसै गाउँपालिका क्षेत्र भित्र अबस्थीत छ भने गल्छी मैलुङ रसुवागढी सडक आयोजना जस्ता राष्ट्रिय स्तरका आयोजनाहरुले यस गाउँपालिकाको क्षेत्रलाई समेटेको छ। किस्पाङ गाउँपालिका नुवाकोट जिल्लामा जल स्रोतको दृष्टिकोण वाट धनी स्थानीय तहको रुपमा रहेको छ । त्रिशुली नदी, सलाखु खोला, सप्ताङ खोला, छल्कुङ खोला, खुर्लु खोला किस्पाङ देखि दक्षिण तर्फ बग्ने घट्टे खोला लगायतका अनेकौ खोला नाला वाट वग्ने पानीलाई समुचित प्रयोग गरी यहाँको कृषि उत्पादन लाई वृद्धि गर्न सकिन्छ। यस गाउँपालिकाको धेरै भुभाग वन जङगलले ढाकेको ले वन पैदावारमा पनि धनी छ। कृषि तथा पशुपालनको दृष्टिकोण वाट यस गाउँपालिका धेरै सम्भावना वोकेको उर्वर भूमि हो। यस गाउँ पालिकामा करीव २१४१ हेक्टर खेती योग्य भुभाग रहेको छ। वडा न. १ भाल्चेको वेमौसमी आलु र मटरकोसा नुवाकोटमा मात्र नभई काठमाडौको वजारमा पनि उतिकै लोकप्रिय छ। यस गाउँपालिका वाट विशेष गरी आलु, मटरकोसा, अलैची, अम्रीसो, कफि लगायत मौसमी तथा बेमौसमी तरकारी जस्ता कृषि उपजहरु निर्यात भैरहेको छ। ब्यवसायीक रुपमा किवी खेती, सिताके च्याउ, ओखर खेती, जडिववुटी खेती, ट्राउट माछा पालन र कालिज पालन तर्फ युवाहरुको आकर्षण वढदो रुपमा रहेको देखिन्छ। यस गाउँपालिकामा चरिचरनको लागि प्रचुर मात्रामा घासे चौर तथा खर्क भएकाले पशुपालनको प्रवल सम्भावना छ। पहिले देखिनै यस क्षेत्र भेडा वाख्रा पालन ब्यवसायमा धेरै कृषकहरु आवद्ध रहेका छन। आ.व. २०७६÷०७७ देखि किस्पाङ गाउँपालिका कार्यालय तथा सहयोगी संस्थाको सहयोगबाट दुध संकलन केन्द्र स्थापना गरी दुग्धजन्य उत्पादन निर्यात सुरु गरिएकोले युवाहरु पशुपालन तर्फ आकर्षित भएका छन्।
यस किस्पाङ गाउँपालिकाको सवै वडाहरु सडक संजालसंग जोडिएको छ। पहाडी भु-धरातल न्युन विकास बजेट जस्ता कारण सडक संजाललाई ब्यवस्थित बनाउन भने सकिएको छैन। यस गाउँपालिकाको प्रमुख सडकको रुपमा रहेको सोले-सातदोवाटो-काहुले-भाल्चे-साल्मे सडक स्तरउन्नतिको अवस्थामा छ। सोले-किर्नेवगर-भाल्चेबेसी हुँदै साल्मे सडक, कामीडाँडा-गाउँपालिका-साल्मे सडक, शान्तीबजार-अर्चले-गोगने सडक लगायत वडा स्तरका सडकहरु स्तरउन्नतिको चरणमा रहेका छन।यस गाउँपालिकाको वडा नं. १ मा निर्माणाधिन विद्युत सव-स्टेसन सम्पन्न हुने चरणमा रहेको छ।यस आयोजना सम्पन्न पश्चात सम्पुर्ण गाउँपालिका वातावरणमैत्री विद्युत प्रसारणलाईन युक्त गाउँपालिका हुने छ। यस किस्पाङ गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको हाङक्वाङ स्योङ खानेपानि योजना निर्माणको अन्तिम चरणमा रहेका छ।सो योजना निर्माण पश्चात किस्पाङ गाउँपालिकाको वडा नं. २ र ५ मा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान हुनेछ।राज्य पुर्नसंरचना पश्चात गाउँपालिका तथा अन्य विकास साँझेदार संस्थाबाट अधिकांश बस्तिस्तरमा खानेपानीको ब्यवस्थापन भैसकेको छ। किस्पाङ गाउँपालिकामा एउटा बहुमुखी क्याम्पसका साथै ६ वटा माध्यामिक विद्यालय एउटा प्राविधिक धारको विद्यालय, १५ वटा आधारभुत विद्यालय गरी जम्मा २१ वटा सामुदायिक विद्यालयहरु र ३ वटा नीजि क्षेत्रका विद्यालय संचालनमा छन।२०७२ को विनासकारी भुकम्पबाट भत्कीएका अधिकांश विद्यालयहरु पुननिर्माण भै सकेका छन। शैक्षिक पुर्वाधार, जनशक्तिका साथै शैक्षिक गुणस्तरलाई सुधार गरी आफ्नै घर आँगनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति किस्पाङ गाउँपालिकाले लिएको छ। यस गाउँपालिकामा हाल ६ वटा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा उपलब्ध भैरहेको छ।किस्पाङ गाउँपालिकाको वडा नं. ३ स्थित काहुले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा तथा गर्भवतीको लागि भिडियो एक्स रे सेवा संचालनमा रहेको छ।किस्पाङ गाउँपालिकाले पालिकास्तरीय एक अस्पताल संचालनको लागि तयारी गरीरहेको छ।आ.व. २०७७/०७८ बाट नै उक्त अस्पताल संचालनमा आउने गरी तयारी भैरहेको छ।
समग्रमा, यस क्षेत्र प्राकृतिक र साँस्कृतिक सम्पदा, उर्बर भुमि र पर्यटन क्षेत्रका साथै वातावरणीय अध्ययन अनुसन्धानको लागि उपयुक्त स्थानको धनी हुदाँ हुदै पनि न्युन विकास वजेट, प्रभावकारी योजनाको अभाव र भौगोलिक विकटता जस्ता बिबिध कारणले गर्दा विकासको दृष्टिकोणबाट भने पछाडी परेको देखिन्छ। किस्पाङलाई समृद्ध वनाउने उद्देश्यका साथ वातावरणमैत्री, दिगो विकासका मापदण्ड अनुसार विकासका संरचना निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरी योजना निर्माण तथा परिचालनमा किस्पाङ गाउँपालिका लागि परेको छ।